ट्रेन्डिङ

छठको अवसरमा बलिरामपुरमा ३० जनाले गरे रक्तदान

वीरगन्ज । आस्था र परोपकारको पर्व छठको शुभ अवसर पारेर पर्साको विश्रामपुर गाउँपालिका–८, बलिरामपुरमा विशाल रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक विकास सेवा समिति र श्री बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा ३० जना व्यक्तिले स्वेच्छाले रक्तदान गरी मानवताको सन्देश फैलाएका छन्।

रक्तदान कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा विभिन्न वर्गका व्यक्तिहरूले सक्रिय सहभागिता जनाए। रक्तदान गर्नेहरूमा दीपा ठाकुर, सन्तोष कुमार महतो, छठू महतो, राम महतो केवट, अभिनाश गुप्ता, सन्तोष प्रसाद कलवार, दुखाराम महतो, भोला प्रसाद साह, सेशनाथ महतो, गौतम कुमार, राहुल महतो केवट र प्रदीप कुमार गुप्त लगायतका नागरिकहरू थिए।

सामाजिक विकास सेवा समितिका अध्यक्ष प्रदीप कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डा. मुकेश चतुर्वेदी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । यसैगरी, बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम गुप्ता र समाजसेवी राजेन्द्र भट्टराई लगायतको पनि उपस्थिति रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको सो कार्यक्रमलाई नेपाल रक्त सञ्चार केन्द्र, वीरगन्जका प्राविधिक टोली (जितेन्द्र कुश्वाहा र नितेश कुमार) लगायतले प्राविधिक सहयोग पुर्‍याएको थियो।

आयोजकहरूले छठ पर्वको अवसरमा आयोजित यस रक्तदान कार्यक्रमले समाजमा मानवता, सेवा भावना र परोपकारको सन्देश फैलाउन सफल भएको विश्वास व्यक्त गरेका छन्। परोपकारी कार्यमा जुटेका ३० जना रक्तदाताहरूको योगदानले आवश्यक पर्ने बिरामीहरूका लागि ठूलो सहयोग पुग्ने निश्चित छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै