ट्रेन्डिङ

छठलगत्तै मुख्यमन्त्री सोनल विश्वासको मत लिने तयारीमा, भोली गठबन्धनको बैठक बस्ने

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेशको प्रमुख चाड छठ पर्वको समापनसँगै प्रदेशसभामा विश्वासको मत लिने निर्णायक तयारी गरेका छन्।

संवैधानिक बाध्यता अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले असोज २९ गते नियुक्त भएका सोनल अब प्रक्रियालाई तीव्रता दिँदैछन्।बलियो गठबन्धन, सहज बहुमतको आकलनमुख्यमन्त्री सोनल पाँचदलीय गठबन्धनको बलमा सरकारको नेतृत्व गरिरहेका छन्।

यो गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एकीकृत समाजवादी सहभागी छन्। १०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि न्यूनतम ५४ मत आवश्यक पर्छ। मुख्यमन्त्री सोनलको गठबन्धनसँग कुल ५७ सांसद छन्, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा तीन मत बढी हो।

जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपा नेपालका ९ र नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेश सभा सदस्यसहित ५७ सांसदको समर्थन रहेको छ । प्रदेश सभामा रहेका केही साना दललाई पनि आफ्नो पक्षमा ल्याउन मुख्यमन्त्री सोनल लागिरहेको एक नेताले बताए ।

विश्वासको मत र सरकार सञ्चालनको रणनीति तय गर्न गठबन्धनमा आबद्ध दलहरूको महत्वपूर्ण बैठक भोलि (बुधबार) दिउँसो चार बजे बस्दैछ। माओवादी केन्द्रका एक नेताका अनुसार यो बैठकले विश्वासको मत लिने मिति, मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको टुङ्गो लगाउने छ।

यद्यपि, मुख्यमन्त्री सोनलको विश्वासको मतको प्रक्रियामा जनमत पार्टीबाट विभाजित भएको जन स्वराज पार्टीको गठन प्रक्रियालाई यथावत राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशले केही रणनीतिक छलफलको आवश्यकता देखिएको छ। सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि कार्तिक १७ गते बोलाएको छ। गठबन्धनको बैठकमा सोनलले विश्वासको मत कहिले लिने भन्नेबारे राजनीतिक र कानुनी पक्षको विश्लेषणसहित रणनीतिक निर्णय लिने अपेक्षा गरिएको छ।

आवश्यकभन्दा बढी मत भएका कारण मुख्यमन्त्री सोनलले प्रदेशसभामा सहजै विश्वासको मत प्राप्त गर्ने राजनीतिक विश्लेषकहरूको ठहर छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै