ट्रेन्डिङ

छठको मुख्य दिनमा राष्ट्रपति र प्रधानमन्त्री पूजामा सहभागी

वीरगन्ज । श्रद्धा, आस्था र निष्ठाको महापर्व छठको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य अर्पण गरिएको छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की पनि राजधानीका प्रमुख छठ घाटहरूमा पुगी पूजा अर्चनामा सहभागी भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार अपरान्ह काठमाडौँको ऐतिहासिक कमलपोखरीमा पुगेर पूजा अर्चना गरिन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशवासीलाई छठ पर्वको शुभकामना व्यक्त गरिन् । कमलपोखरी पुगेकी प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले पनि छठ पर्वको अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । उनले प्रथम महिला सविता पौडेलका साथ पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघिको बागमती किनारमा तयार गरिएको छठ पूजास्थलमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए ।

देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अघ्र्य दिने परम्परा रहेको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व काठमाडौँ उपत्यकाको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली लगायतका स्थानमा पनि भव्य रूपमा मनाइन्छ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जाग्राम बस्नेछन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको विधिवत् समापन हुनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै