वीरगन्ज । श्रद्धा, निष्ठा र समानताको प्रतीक छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी देशभर उल्लासपूर्वक मनाइएको छ।
केही वर्षअघिसम्म तराईको मात्र पर्व मानिने छठ अहिले पहाडी भेगमा समेत भव्य रूपमा मनाइने साझा चाड बनिसकेको छ। मधेशका प्रमुख शहरहरू वीरगन्ज र जनकपुरधामका नदी तथा पोखरी किनारहरूमा भक्तजनको अत्यधिक भीड लागेको थियो। वीरगन्जमा घडिअर्वा पोखरी, रानीघाट, मुडली, नगवा, श्रीपुर र चिनीमिल आवास क्षेत्रका पोखरीहरू आकर्षक रूपमा सजाइएका थिए।
त्यसैगरी, जनकपुरधाममा गंगासागर, रतनसागर, धनुषसागर, बिहारकुण्ड, अग्निकुण्ड, सीताकुण्ड र दशरथ तलाउ लगायतका ऐतिहासिक जलाशयहरूमा अर्घ्यका लागि भक्तजनहरू भेला भएका थिए। काठमाडौँ उपत्यकाभित्र पनि गुह्येश्वरी–गौरीघाट, कमलपोखरी र थापाथली लगायतका घाटहरूमा छठ मनाइएको छ।
यी घाटहरूमा व्रतालुहरूले ३६ घण्टा लामो कठोर निराहार व्रतको पालना गर्दै बाँसको टोकरीमा ठकुवा, भुसुवा, उखु, केरा, नरिवल र अन्य मौलिक सामग्री राखेर सूर्यदेव तथा छठी माताको पूजा गरे। छठ पर्वले कुनै पनि जात, धर्म वा वर्ग नहेरी सबैलाई एउटै जलाशयमा उभ्याएर समानता र सद्भावको सन्देश दिएको छ। कात्तिकको सुनौलो साँझमा प्रकृति र जीवनलाई शक्ति दिने सूर्यदेवको आराधना गर्दै भक्तजनहरूले परिवारको सुख, शान्ति, सन्तान र समृद्धिको कामना गरेका छन्।
आज रातभर जाग्राम बसेपछि व्रतालुहरूले भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्यु अर्पण गर्नेछन्। भोलि बिहान अर्घ्य दिइएपछि यो चार दिने वैदिक महाचक्रको पर्व विधिवत् रूपमा समापन हुनेछ।
यसैबीच वीरगन्जको घडिअर्वा छठघाटमा लोक आस्थाको महापर्व छठ पूजामा सरिक हुदैँ नेपाली सनाले छठी माईलाई सलामी अर्पण गरेको छ ।
यसअघि दशैंमा सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने चलन रहेकोमा छठ पुजामा सेनाले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गरेको हो । वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको वाद्यवादनसहितको परेड र मार्च गर्दै परिक्रममापछि घडिअर्वा छठघाटमा पुगेको सेनाको टोलीले छठघाट परिसरमा रहेको सुर्य भगवानको मन्दिरमा पुगेको थियो ।