वीरगन्ज । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य अर्पण गरिँदैछ।
बिहानै स्नान गरी दिनभर कठोर निर्जल व्रत बसेका व्रतधारीहरू बेलुकी डुब्ने सूर्यलाई अर्घ्य दिएर आराधना गर्ने परम्परा छ।
चारदिने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइँदै आउँछ।
शनिबारदेखि सुरु भएको यस पर्वमा सूर्यदेवको आराधना, उपासना र धन्यवाद स्वरूप पूजा गरिन्छ।
पौराणिक आधार
महाभारतका अनुसार द्रौपदी र पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए।
त्यसै समयदेखि छठ पर्वको थालनी भएको जनविश्वास छ। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरी अटल सौभाग्य प्राप्त गरेपछि यो धार्मिक अनुष्ठान परम्परागत रूपमा प्रचलनमा आएको उल्लेख छ।
सूर्य आराधनाको महत्व
सूर्यलाई सम्पूर्ण प्राणी, वनस्पति र भौतिक ऊर्जाको मूल स्रोत मानिन्छ। सूर्यकिरणको उपचारात्मक प्रभावबारे विभिन्न ग्रन्थहरूमा उल्लेख पाइन्छ। साम्व पुराणमा पिता श्रीकृष्णको पुत्र साम्बले सूर्य उपासनाको माध्यमबाट कुष्ठरोगमुक्त भएको कथा रहेको छ। त्यसैले छठ पर्वमा व्रत बस्दा दुःख, दरिद्रता तथा रोग व्याधिबाट मुक्ति मिल्ने विश्वास रहँदै आएको छ।
व्रतविधि
• चतुर्थी (पहिलो दिन): स्नान गरी एक छाक मात्र खाने प्रचलन।
• पञ्चमी (दोस्रो दिन): सखर मिसाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरूप ग्रहण गर्ने तथा नुन नखाई फलाहार गर्ने।
• षष्ठी (तेस्रो दिन/मुख्य दिन): दिनभर कठोर निराहार व्रत बस्ने र बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने।
• सप्तमी (चौथो दिन): रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्वको समापन गर्ने।
विधिपूर्वक सूर्यको पूजा गरी अर्घ्य अर्पण गर्ने व्यक्तिलाई छाला सम्बन्धी रोग नलाग्ने धार्मिक विश्वास छ।
सामूहिक आस्थाको पर्व
सन्तानको दीर्घायु, परिवारको सुख-समृद्धि र आध्यात्मिक शुद्धिकै लागि मनाइने यो पर्वमा व्रत बस्न नसक्नेहरूले पनि वर्तालुहरूमार्फत आफ्नो मनोकामना अर्पण गर्ने गर्छन्।
आर्थिक अभाव भएकाहरूले भिक्षा मागेर पनि छठ पर्व मनाउने परम्परा रहेको छ।