ट्रेन्डिङ

वीरगन्जको घडीअर्वा पोखरी छठघाटको भव्य तयारी सम्पन्न, २३ लाखभन्दा बढी खर्चको अनुमान

वीरगन्ज । छठ पर्वको अवसरमा आफ्नो अद्वितीय सजावटका लागि देशभर प्रसिद्ध वीरगन्ज–१० स्थित घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ। छठपूजा व्यवस्थापन समितिले आइतबार साँझ पत्रकार सम्मेलनमार्फत यस वर्षको तयारी, सुरक्षा प्रबन्ध र अनुमानित खर्चको विस्तृत जानकारी दिएको छ।

समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले जानकारी दिएअनुसार, यस वर्ष छठघाटको भव्य सजावट र व्यवस्थापनमा करिब २३ लाख ८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्चको विवरणमा टेन्ट, पण्डाल र सजावटमा ९ लाख, परिसर बाहिरको बत्ती व्यवस्थापनमा ३ लाख, र पुरस्कार वितरणमा ५ लाख ५० हजार रुपैयाँ खर्च हुने उल्लेख छ। गत वर्ष कुल १९ लाख १४ हजार ८१२ रुपैयाँ खर्च भएकोमा यस वर्ष अनुमानित खर्च रकम बढेको देखिएको छ।

व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै बलियो सुरक्षा प्रबन्ध मिलाइएको छ। सुरक्षा उपसमितिका संयोजक मुन्ना साहका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ११० जना सुरक्षाकर्मी तथा घडीअर्वा स्पोर्ट क्लबका ६० जना स्वयंसेवक परिचालन गरिनेछ।

सुरक्षालाई थप चुस्त बनाउन छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने सादा पोशाकमा समेत प्रहरी खटाइने साहले जानकारी दिए।

समितिका अध्यक्ष राकेश साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वीरगन्ज–१० का वडा अध्यक्ष सुशील साह कानूसहित पूर्व अध्यक्ष तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो, जसले छठ पर्वलाई भव्य र सुरक्षित रूपमा मनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै