वीरगन्ज । प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गरेकी छन्। यस क्रममा दुई नयाँ मन्त्रीहरूले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बब्लु गुप्ताले सम्हालेका छन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा नियुक्त भएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ः २५ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्री कार्कीले शनिबार राति कुल चार जनालाई मन्त्रीमा सिफारिस गरेकी थिइन्। तर, सिफारिस गरिएकामध्ये गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको नाममा विवाद आएपछि उनीहरूको शपथ नभएको हो ।
श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुनारलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको थियो। यसरी विवादका कारण दुई जनाको शपथ रोकिए पनि प्रधानमन्त्री कार्कीले तत्काललाई दुई नयाँ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।