वीरगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणमा लागुऔषध गाँजाजस्तो देखिने वस्तुसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार, शुक्रबार दिउँसो विमानस्थलको भन्सार क्षेत्रबाट कुल ७ किलो २९५ ग्राम उक्त लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भारतका २५ वर्षीय हरगोबिन्द सिंह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन्। हरगोबिन्द सिंह र समिर एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका थिए। उनीहरूको साथबाट ३ किलो ५४० ग्राम लागुऔषध बरामद भएको छ।
फिरोज अहमद सम्पद इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौँ आएका थिए। उनीबाट ३ किलो ६५५ ग्राम उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।