वीरगन्ज । हिन्दूहरूको महान पर्व छठको अवसरमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुँगटा वेलफेयर सोसाइटी वीरगन्ज–पर्साको संयुक्त आयोजनामा वीरगन्ज कारागारमा विशेष सामाजिक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमअन्तर्गत जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका–४ स्थित वीरगन्ज कारागारमा रहेका महिला थुनुवा तथा कैदी दिदीबहिनीहरूलाई निःशुल्क नयाँ साडी वितरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा रुँगटा वेलफेयर सोसाइटी वीरगन्ज–पर्साका अध्यक्ष मुर्लीधर रुँगटा रहेका थिए ।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारी, आजीवन सदस्य, प्रहरी, समाजसेवी, बुद्धिजीवी, विशिष्ट व्यक्ति र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम वीरगन्ज महानगरपालिका–४ स्थित कारागारको प्राङ्गणमा सम्पन्न भएको हो। कार्यक्रमका क्रममा ७५ थान नयाँ साडीहरू महिला कैदी र थुनुवा दिदीबहिनीहरूलाई वितरण गरिएको थियो।
कार्यक्रमका अध्यक्ष जय प्रकाश खेतानले भने छठ पर्व केवल धार्मिक आस्थाको विषय होइन, यो मानवीय सहयोग र सहानुभूतिको पनि पर्व हो। कारागारभित्र रहेका दिदीबहिनीहरूसँग यो पर्वको खुशी बाँड्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।
त्यस्तै प्रमुख अतिथि मुर्लीधर रुँगताले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने रुँगटा वेलफेयर सोसाइटीले सदैव समाजका विपन्न, असहाय र सहयोग आवश्यक व्यक्तिहरूका लागि यस्ता मानवसेवामूलक कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछ।
कार्यक्रम सफल बनाउन ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका सम्पूर्ण सदस्य, प्रहरी समुदाय र स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको आयोजक समितिले जनाएको छ।