वीरगन्ज । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको शुभ पावन अवसरमा ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगन्ज शाखा, वडा नं.–१६, नगवाद्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगन्ज–१६, नगवाको प्राङ्गणमा आज कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा वीरगन्जका पूर्व मेयर बिजय सरावगी रहेका थिए। कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगन्ज शाखा वडा नं.–१६ नगवाका अध्यक्ष बिश्वनाथ प्रसाद चौरसियाले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव सुरेन्द्र कानुले गरेका थिए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, जिल्ला अध्यक्ष बैजनाथ महतो लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले ज्येष्ठ नागरिकहरूको योगदानको प्रशंसा गर्दै समाजमा उनीहरूको अनुभव र मार्गदर्शनले नयाँ पुस्तालाई प्रेरणा दिने बताएका थिए। सो अवसरमा बोल्ने वक्ताहरूले पर्सा जिल्लामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको दाबी गर्दै यसलाई आगामी वर्षहरूमा अझै व्यापक बनाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी, सदस्यहरू, स्थानीय सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान गर्दै छठ पर्वको मंगलमय शुभकामना आदान–प्रदान गरिएको थियो। उक्त अवसरमा उपस्थित अतिथिहरूले छठ पर्वले समाजमा आस्था, एकता र सद्भाव बढाउने सन्देश दिने बताएका थिए।