महोत्तरी । जिल्लाको गौशाला बजार, स्थानीय माछा बजार क्षेत्रमा आज एक २५ वर्षीय युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ। घटनाको जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार, घटनास्थल पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।
प्रारम्भिक अनुसन्धानबाट मृतक युवक सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चियाका रामानन्द बैठा रहेको खुलेको छ। स्थानीयहरूको भनाइअनुसार, बैठा विगत करिब ३–४ वर्षदेखि गौशाला क्षेत्रका विभिन्न होटलहरूमा काम गरी जीविका चलाउँदै आएका थिए।
यद्यपि, उनको मृत्युको कारण अझै खुल्न सकेको छैन। स्थानीयले भने उनी केही समयदेखि बिरामी रहेको र सोही कारण गएराति उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।