ट्रेन्डिङ

आस्थाको उज्यालो पर्व छठ आजदेखि सुरु, मधेसमा भक्तिमय माहोल

जनकपुर । सूर्यदेवको आराधना र सन्तानको दीर्घायु तथा समृद्धिको कामनासँग जोडिएको चारदिने महान् आस्थाको पर्व छठ शनिबारदेखि देशभर विधिवत् रुपमा प्रारम्भ भएको छ।

तराई–मधेसका सहर, बजारदेखि नदी–पोखरीका घाटहरू आजदेखि भक्तिहरूको उपस्थितिले जीवन्त बन्दै गएका छन्।

पहिलो दिन ‘नहाय–खाय’: शुद्धताको शुरुवात

आज व्रतालुहरूले बिहान सबेरै नदी, पोखरी वा सामूहिक जलाशयमा स्नान गरी शरीर तथा मनको शुद्धीकरण गर्दै ‘नहाय–खाय’ विधि पूरा गरेका छन्।

यस दिन अरवा चामल, चना, रहर दाल, लौका र फर्सीको सात्त्विक परिकार ग्रहण गरिन्छ। यो विधिलाई स्थानीय भाषामा ‘अरबा–अरबाइन’ समेत भनिन्छ।

भोलि खरना, ४८ घण्टाको कठोर व्रत सुरु

पर्वको दोस्रो दिन आइतबार ‘खरना’ मनाइनेछ।दिनभर निर्जल उपवास बसेका व्रतालुहरूले साँझ साठी धानको चामल, सक्खर र दूधबाट बनेको खीर तथा गहुँको रोटी सूर्यदेवकी आराध्य छठी मातालाई अर्पण गरी प्रसादस्वरूप ग्रहण गर्नेछन्।

त्यसपछि उनीहरू निराहार व्रतमा प्रवेश गरी ४८ घण्टासम्म अन्न र पानीसम्म त्याग्ने परम्परा छ।

तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

सोमबार साँझ छठको मुख्य दिनका रूपमा ‘सँझिया घाट’ मनाइनेछ।

व्रतालुहरू बाँसको डगरी, ढाकी, कलश, डोगा, ठकुवा, भुसुवा, उखु, केरा, फलफूल र विभिन्न प्रसादसहित जलाशय किनारमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्ने छन्।

अन्तिम दिन पारणसँग पर्व समापन

मंगलबार बिहान उदाउँदै गरेको सूर्यलाई पुनः अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने छ, जसलाई ‘पारण’ भनिन्छ।

यस दिन परिवार र समाजबीच प्रसाद वितरण तथा ग्रहण गरी सहकार्य, सद्भाव र एकताको सन्देश आदानप्रदान गरिन्छ।

छठ पर्व केवल धार्मिक मात्र नभई सामाजिक एकतामा जोडिनको लागि समर्पित सांस्कृतिक उत्सवका रूपमा पहिचान बन्दै गएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै