ट्रेन्डिङ

पर्सामा सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ६ लाख बढीको अवैध सामान र मोटरसाइकल

वीरगन्ज । नेपाल–भारत सीमा क्षेत्रमा अवैध चोरी निकासी तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले सक्रियता बढाएको छ।

पछिल्लो दुई दिनको अवधिमा सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट ६ लाख २४ हजार ५० रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी तथा नायव उपरीक्षक बिश्वराज योन्जनका अनुसार, कार्तिक ६ गते बोर्डर आउट पोष्ट प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठा स्थित सीमा क्षेत्रबाट भारतबाट टाउकोमा बोकेर नेपालतर्फ ल्याइँदै गरेको २ लाख ७६ हजार ३ सय ४० मूल्यको कपडा बरामद गरेको थियो।

यसैगरी, सोही दिन नं. १३ गणको टोलीले धोविनी गाउँपालिका–१, जानकीटोलाबाट मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको ७३ हजार ५ सय रुपैयाँ बराबरको किराना र कस्मेटिक सामान बरामद गरेको छ। प्रहरीलाई देख्नेबित्तिकै तस्कर मोटरसाइकल छाडेर भाग्न सफल भएका थिए।

त्यसैगरी, कार्तिक ७ गते बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–३, झौवाबाट नेपालबाट भारततर्फ अवैध निकासी गर्न लागिएको ४ हजार २ सय १० मूल्यको स्याउ र उक्त कार्यमा प्रयोग भएको २ लाख ७० हजार मूल्यको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सम्पूर्ण सामान, कपडा, किराना, कस्मेटिक वस्तु र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको नायव उपरीक्षक योन्जनले जानकारी दिए । चाडपर्वको समयमा तस्करीलगायतका आपराधिक गतिविधि बढ्न सक्ने भएकाले सीमा सुरक्षामा थप कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै