ट्रेन्डिङ

पोखरिया अस्पतालको मुद्दा उठाउँदै मुख्यमन्त्री सोनलसँग छलफल

वीरगन्ज। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपाने) को एक प्रतिनिधिमण्डलले भेटवार्ता गरी पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा शीघ्र सञ्चालन गर्न विशेष पहल गर्न आग्रह गरेको छ।

रामुपाने नेपालका सह–महासचिव नेजामुद्दीन शमानीको नेतृत्वमा गएको टोलीले पोखरिया अस्पतालको वर्तमान अवस्था र यसलाई स्तरोन्नति गरी प्रदेशको महत्वपूर्ण स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएको हो। टोलीले जगतपुरस्थित स्वास्थ्य चौकीको सुधार तथा अन्य निर्माणाधीन पूर्वाधार आयोजनाहरूलाई तत्काल पूर्णता दिन पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

भेटघाटका क्रममा प्रतिनिधिमण्डलले मधेश प्रदेश सरकारको भौतिक निर्माणतर्फको काममा देखिएको ढिलासुस्तीप्रति गम्भीर गुनासो पोख्यो। टोलीले विगतमा प्रदेश सरकारद्वारा विभिन्न जिल्लाहरूमा थालिएका भवन निर्माण, सडक विस्तार तथा अन्य पूर्वाधारका अधिकांश परियोजनाहरू हालसम्म पनि अधुरो अवस्थामा रहेको यथार्थ प्रस्तुत गरेको थियो।

सह–महासचिव शमानीले भने, ‘प्रदेशमा कतिपय भवनको छत ढलान भएर वर्षौंदेखि काम रोकिएको छ, कतै महत्त्वपूर्ण सडक खण्डहरू अधुरो छोडिएका छन्। यसले विकास निर्माणमा सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।’

प्रतिनिधि टोलीमा सहभागी अन्य सदस्यहरूले प्रदेशवासीले प्रत्यक्ष लाभान्वित हुने शिक्षा, स्वास्थ्य, सिँचाइ तथा रोजगारीजस्ता आधारभूत क्षेत्रहरूमा सरकारले तत्काल ठोस नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिए। उनीहरूले जनताले अनुभूति गर्नसक्ने गरी विकासका काम सम्पन्न गर्न ढिलासुस्ती नगर्न मुख्यमन्त्री सोनलसँग आग्रह गरेका छन्।

छलफलमा रामुपाने नेपालका नेताहरू अनिरुद्ध प्रसाद कलवार, राजेश साह, फहिम हवारी लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै