ट्रेन्डिङ

दाजुभाइको दीर्घायु कामना गर्दै तराई–मधेशमा भैयादुज पर्व मनाइँदै

वीरगन्ज । पहाडी मूलका हिन्दूहरूले भाइटीका मनाइरहँदा तराई–मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ (भरद्वितीया वा भातृद्वितीया) पर्व धुमधामसँग मनाइँदैछ।

यमपञ्चकको यो पाँचौँ दिनमा दिदीबहिनीले दाजुभाइलाई विशेष निम्ता दिएर उनीहरूको सौर्य, कल्याण र दीर्घजीवनको कामना गर्छन्।

सामान्यतया पाँच दिनको हुने यमपञ्चक यस वर्ष तिथिको कारणले छैटौँ दिनमा भैयादुज परेको छ। गत शनिबार धनतेरसबाट सुरु भएको दीपावली पर्व आज भैयादुज मनाएर सम्पन्न हुँदैछ।

मधेशी परम्परामा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नो घरमा निम्ता गर्ने चलन छ। दाजुभाइले पनि नयाँ वस्त्र र आभूषण कोसेली लिएर दिदीबहिनीको घरमा पुग्छन्।

पर्वको मुख्य विधिअन्तर्गत दिदीबहिनीले घरमा पिठार (अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यसभित्र काठको पिरामा दाजुभाइलाई बसाउँछन्। टाढाबाट आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुने र अञ्जुलीमा पिठार, पानको पात र सुपारी राखी दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने गरिन्छ।

संस्कृतिविद् तथा लोकपरम्पराका जानकार ध्रुव रायका अनुसार यो पर्वको कथावस्तु पहाडी मूलको भाइटीकासँग मिल्दोजुल्दो छ। सत्ययुगमा राजा वलिकी बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि र युद्धमा विजयको कामना गर्दै टीका लगाएको कथा नै यस पर्वको आधार हो।

टीका लगाउने विधि सम्पन्न भएपछि दिदीबहिनीले दाजुभाइको गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति होस् भन्दै गीतबाट भाव व्यक्त गर्छन्। यसै क्रममा दाजुभाइलाई सुकेको केराउको दाना चबाउन दिइन्छ, जसलाई मैथिल भाषामा ‘बजरी’ भनिन्छ। रायका अनुसार बजरी ख्वाइने विधिको भाव दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने हो।

यो विधि सकिएपछि दाजुभाइले आफ्नो क्षमताअनुसार दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा उपहारका रूपमा दिई सम्मान प्रकट गर्छन्। अन्तमा दिदीबहिनीले दाजुभाइलाई मिष्टान्न भोजन गराएर भैयादुज पर्व सम्पन्न गर्छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै