वीरगन्ज । नेपालीहरूको दोस्रो महान् चाड तिहारको मुख्य आकर्षणको दिन, भाइटीका, आज श्रद्धा, आस्था र निष्ठाका साथ मनाइँदैछ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै परम्परागत पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने र दाजुभाइले पनि टीका लगाएर दक्षिणा तथा उपहार दिने चलन छ। दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा तोकेको छ। यद्यपि, समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने स्पष्ट पारेका छन्। तर, राज्य सञ्चालकहरू (सरकार प्रमुख, मन्त्री आदि)ले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ। यस वर्ष यमपञ्चक पाँच दिनको हुने भए पनि तिथी वृद्धिका कारण भाइटीका छैटौँ दिनमा परेको समितिले जनाएको छ।
यस दिनलाई ‘यमद्वितीया’ पनि भनिन्छ। टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने शास्त्रीय नियम छ। यसरी फर्कँदा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख (अगाडि) पर्ने र शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने मान्यता पूरा हुने जनाइएको छ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरिन्छ। मूल थालीमा लेखिएको अष्टदलमा अष्ट चिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम), चित्रगुप्त, यमराज, यमुना, धर्मराज, नवग्रह र अन्य देवीदेवताको पूजाआराधना गरिन्छ।
पूजापछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिन्छन्। त्यसपछि मखमली, सयपत्री वा गोदावरी फूलका माला पहिराइ आशीर्वाद दिने गरिन्छ।
तिहारमा ‘सप्तरंगी’ टीकाको प्रचार भए पनि धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यतामा पाँच रंगको टीका प्रयोग गर्नुपर्छ। तिहारको भाइटीकामा रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचवटा रंगको प्रयोग गर्नुपर्ने उनले बताए।
टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला तथा सेलरोटी लगायतका खानेकुरा दिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र गच्छेअनुसार दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा रहेको छ।