सिरहा । सिरहाको मिर्चैया नगरपालिका–३, छड्की टोलमा एक परिवारमाथि भएको साङ्घातिक आक्रमणको घटनामा प्रहरीले दोषी उम्काएको र जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले गम्भीर आरोप लगाएका छन्।
गत कात्तिक २ गते बेलुका घरमै प्रवेश गरी भएको आक्रमणमा एकै परिवारका चार जना घाइते भएका थिए।
आक्रमणमा स्थानीय ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादव घाइते भएका थिए। घाइते शिवनन्दनका अनुसार १५–२० जनाको समूहले खुकुरी, रड र भाटालगायतका हतियारले अन्धाधुन्ध प्रहार गरेको थियो। घाइतेमध्ये केहीको अस्पतालमा उपचार भइरहेको छ भने केही फर्किएका छन्।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव, जगदीश धुर्झार यादवसहित पाँच जना थिए। तर, पीडित परिवारको आरोप छ कि राजनीतिक दबाबमा पक्राउ परेकामध्ये तीन जनालाई प्रहरीले छाडिसकेको छ।
पीडित शिवनन्दन यादवले प्रहरीले घटनामा संलग्न दोषीलाई नै छाडेको र उनीहरूको नाम हटाएर ल्याए मात्रै जाहेरी दर्ता गर्ने बताएको आरोप लगाएका छन्। ‘घटनामै संलग्न दोषीलाई प्रहरीले छाडेको छ र उनीहरूको नाम हटाएर ल्याए मात्रै दर्ता हुने भन्दै छन्। दोषीलाई नै छाडेपछि र जाहेरीबाट नाम हटाएपछि हामीले कसरी न्याय पाउने ?’ शिवनन्दनको गुनासो छ।
यता, इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार केही समयअघि जीतवाहन मेलामा दुई किशोरबीच भएको विवादको निहुँमा यो आक्रमण भएको हो। आक्रमणअघि पनि विवाद र सामान्य कुटपिट भएको थियो।
डिएसपी पुरीले प्रहरीले किशोर, पूर्व वडाध्यक्ष हरी कुशीयौत र जगदीश धुर्झारसहित तीन जनालाई छाडिसकेको पुष्टि गरे। उनको भनाइअनुसार, ‘घटनामा उनीहरूको संलग्नता नदेखिएकाले तारेखमा छोडिएको हो। अशोक यादवसहित दुई जना प्रहरीकै नियन्त्रणमा रहेका छन्।’
उनले जाहेरी दर्ता नगरेको आरोपको खण्डन गर्दै घटनामा संलग्न नरहेको व्यक्तिको नाम जाहेरीमा राखेपछि दर्ता गर्न नमिल्ने बताए। डिएसपी पुरीले प्रतिप्रश्न गरे, ‘पक्राउ परेका अन्य दुई व्यक्तिको बयान र अनुसन्धानले ती छाडिएका व्यक्ति त्यतिबेला घटनामा संलग्न देखिँदैन। संलग्न नै नभएका व्यक्तिको नाम जाहेरीमा ल्याएपछि कसरी दर्ता गर्नु ?’
यद्यपि, पीडित परिवारले भने संलग्न व्यक्तिहरूलाई छाडेर अनुसन्धानलाई प्रभावित पार्ने र आफूहरूलाई न्यायबाट वञ्चित गर्ने प्रयास भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। घटनाले छड्की टोलमा तनाव उत्पन्न गरेको छ र पीडित परिवारले न्यायका लागि अपिल गरिरहेका छन्।