ट्रेन्डिङ

लामखुट्टे आतंक नियन्त्रण गर्न वीरगन्ज महानगरले भोलीदेखि विषादी छर्ने

वीरगन्ज । वीरगन्ज सहरमा पछिल्लो केही दिनदेखि लामखुट्टेको प्रकोप तीव्र रूपमा बढ्न थालेपछि वीरगन्ज महानगरपालिकाले डेङ्गु र मलेरिया जस्ता प्राणघातक रोगहरूको जोखिम घटाउन विशेष अभियान घोषणा गरेको छ।

महानगरको सरसफाइ व्यवस्थापन महाशाखाले दिएको जानकारीअनुसार, भोलि कात्तिक ६ गते बिहीबारदेखि नै महानगरका सबै वडाहरूमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने काम सुरु गरिनेछ।

महाशाखा प्रमुख सर्फुदिन मियाँले गर्मी सकिएर जाडो मौसम सुरु हुने संघारमा लामखुट्टेको प्रकोप र संक्रमणको जोखिम बढ्ने भएकाले यो कदम चालिएको बताए।

‘मेयर राजेशमान सिंहको प्रत्यक्ष निर्देशनमा हरेक वडामा पम्प स्प्रेमार्फत विषादी छर्ने र नालाहरूमा लामखुट्टेको लार्भा नष्ट गर्ने तयारी गरिएको छ,’ मियाँले स्पष्ट पारे।

वीरगन्ज महानगरपालिकाले यो बृहत् विषादी छर्ने अभियान मंसिर ३ गतेसम्म सञ्चालन गर्ने जनाएको छ। यो विशेष तालिकामा आधारित अभियान अन्तर्गत हरेक वडालाई समेटिनेछ।

महाशाखा प्रमुख मियाँका अनुसार, लामखुट्टे नियन्त्रणका लागि चालिएको यस्तो सक्रिय कदम डेङ्गु र मलेरिया जस्ता रोगहरू फैलिन नदिन अत्यन्तै महत्वपूर्ण हुन्छ।
महानगरपालिकाले सम्पूर्ण नगरवासीलाई घर वरिपरि पानी जम्न नदिन, सरसफाइमा विशेष ध्यान दिन र रोगको कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै