ट्रेन्डिङ

जानकी मन्दिरमा शान्ति भङ्ग : दीपावलीमा पटका पड्काएकोमा महन्त रामरोशन दास दुःखी

जनकपुरधाम। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले दीपावलीको रातमा मन्दिर परिसरभित्रै निरन्तर पटका पड्काएर शान्ति र मर्यादा भङ्ग गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै रोष प्रकट गरेका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै महन्त दासले यस कार्यलाई ‘अत्यन्त निन्दनीय र दुःखदायक’ भन्दै कडा शब्दमा आलोचना गरे।

महन्त दासले जानकी मन्दिरलाई केवल भौतिक संरचनाको रूपमा मात्र नहेर्न आग्रह गरे। उनले भने, ‘जानकी मन्दिर केवल ईँट र ढुङ्गाको संरचना मात्र होइन, यो जनकपुरवासीको आत्मा हो। यहाँ भक्ति, शान्ति र मर्यादा रहनुपर्छ, बारुद र पटाकाको आवाज होइन।’

उनका अनुसार पछिल्ला वर्षहरूमा दीपावलीको रातमा मन्दिर परिसरभित्र युवाहरूले पटाका पड्काउने, नाचगान गर्ने र अनधिकृत फोटो सेसन गर्ने प्रवृत्ति अत्यधिक बढेको छ। महन्त दासले पटाका र आतिशबाजी धर्म, संस्कार र परम्पराविपरीत रहेको बताउँदै पटक–पटक अनुरोध गर्दा पनि केही युवाहरूले बेवास्ता गरिरहेको गुनासो गरे।

‘यसले सम्पूर्ण मिथिलाको छविमाथि नै दाग लगाइरहेको छ,’ उनले जोड दिए। ठूलो आवाज र आतिशबाजीका कारण मन्दिरमा बस्ने साधुसन्तहरू समेत त्रसित बनेको जानकारी महन्त दासले दिए। उनले ‘जानकी मन्दिर मिथिलाको हृदय हो’ भन्दै यहाँ पटाका र हल्ला नभई भजन, आरती र शान्तिको स्वर गुन्जिनुपर्नेमा जोड दिए। उनले मन्दिरको पवित्रता जोगाउन सबै श्रद्धालु र स्थानीय युवाहरूले जिम्मेवारीपूर्वक आचरण गर्नुपर्ने अपिल गरे।

‘मिथिलाको संस्कृति सौम्यता, भक्ति र मर्यादामा टेकेको छ। पटाका र धुवाँले नभई दीप र भजनले नै जनकपुरधाम उज्यालो बनोस्, यही मेरो कामना हो,’ उनले भने । स्थानीय समुदाय र सामाजिक सञ्जालमा समेत यो घटनालाई ‘संस्कार र आस्थामाथिको प्रहार’ भन्दै व्यापक आलोचना भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै