वीरगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगको अस्तित्वलाई अस्वीकार नगर्न चेतावनी दिएका छन् ।
एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा गृहमन्त्री अर्यालले ओलीलाई ‘सुपर सिटिजन’ नठान्न आग्रह गर्दै आयोगको निर्णय नमानिए कानुनले उनलाई दायरामा ल्याउने स्पष्ट पारेका छन् ।
उनले पूर्वराजा आफैंले आफूलाई सामान्य नागरिक भनिरहेकाले ओलीले ‘म कानुनभन्दा माथि छु’ भन्ने भ्रम पाल्न नहुने तर्क गरे ।
ओलीले आफूलाई हिँडडुल गर्न रोकेको भन्दै सरकारलाई दिएको चुनौतीलाई गृहमन्त्री अर्यालले ‘अफवाह’ भन्दै खण्डन गरेका छन् । उनका अनुसार ओलीलाई उपत्यका छाड्नबाट सरकारले नभई जाँचबुझ आयोगले रोकेको हो।
गृहमन्त्रीले ओलीलाई ‘मति सुधार्न’ आग्रह गर्दै उनको ‘लापरवाही र क्रिमिनल नेग्लिजेन्स’का कारण देशमा ठूलो क्षति भएको आरोपसमेत लगाए ।
ओलीको सुरक्षा टोली घटाएर मेयर र वडा अध्यक्षको सुरक्षा थपेको भन्ने धारणाको पनि मन्त्री अर्यालले खण्डन गरे । उनले गृहमन्त्रालयको लागि ओली एक अपदस्थ पूर्वप्रधानमन्त्री हुन् र उनलाई विशेष नागरिकको रूपमा नभई समान नागरिक सरह व्यवहार गरिने बताए ।