वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले बुवाको सचिवालयबाट राजीनामा दिएकी छन् ।
विभिन्न सञ्चार माध्यममा आफ्नो बारेमा लगातार ‘भ्रामक समाचार’ र ‘कुप्रचार’ आएको भन्दै उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेकी हुन् ।
आफूमाथि भइरहेको निरन्तरको प्रहार व्यक्तिगत नभई प्रचण्ड र समग्र पार्टीविरुद्धको ‘योजनाबद्ध प्रहार’ भएको उनले बताएकी छन् । ‘यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर राजीनामा दिएको छु,’ दाहालले उल्लेख गरेकी छन् ।
भाइ प्रकाश दाहालको निधनपछि आमा सीता दाहालको हेरचाह र पार्टी नेताहरूको सल्लाहमा बुवालाई सहयोग गर्न सचिवालयमा आएको जानकारी दिँदै, उनले आफूले कहिले पनि आफ्नो स्वार्थका लागि काम नगरेको दाबी गरेकी छन् ।
राजीनामा दिए पनि आफू पार्टीको जिम्मेवार कार्यकर्ताको रूपमा आजीवन क्रियाशील रहने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।