वीरगन्ज । गत भदौ महिनामा हैजा महामारीको चपेटामा परेको पर्सा जिल्लाले एक महत्वपूर्ण स्वास्थ्य अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।
हैजाको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सञ्चालित सातदिने खोप अभियानमा जिल्लाभर ५ लाख ४७ हजार ३११ जनालाई मुखबाट खुवाइने हैजाविरुद्धको खोप खुवाइएको छ।
असोज २६ देखि कात्तिक २ गतेसम्म चलेको यो बृहत अभियानमा लक्षित जनसङ्ख्याको ८४ प्रतिशतले खोप पाएका छन्। विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा स्वास्थ्य कार्यालय पर्साले जिल्लाका १४ वटै पालिकामा खोप केन्द्र स्थापना गर्नुका साथै घरदैलो कार्यक्रम समेत गरी यो उपलब्धि हासिल गरेको हो।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, यस अभियानको मुख्य केन्द्रबिन्दु रहेको र महामारीले सबैभन्दा बढी प्रभावित भएको वीरगञ्ज महानगरपालिकामा मात्र २ लाख २६ हजार १६६ जनालाई खोप खुवाइएको छ। यो महानगरपालिकाको लक्षित जनसङ्ख्याको ८२ प्रतिशत हो।
जिल्लाको कूल लक्षित ६ लाख ५२ हजार १२९ जनामध्ये ५ लाख ४७ हजार ३११ जनालाई खोप खुवाइएको छ। बाँकी छुटेका १६ प्रतिशत लाई पनि हैजाको जोखिमबाट सुरक्षित राख्नका लागि छठ पर्व लगत्तै पुनः अर्को खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।
पर्सामा हैजाको प्रकोप पूर्णरूपमा नियन्त्रणमा नआइसकेको अवस्थामा, यस विशाल सङ्ख्यामा गरिएको खोप वितरणले आगामी दिनमा सम्भावित महामारीलाई रोक्न महत्वपूर्ण सुरक्षाकवचको काम गर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।