वीरगन्ज । तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले अपराध अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पुर्याउने तालिमप्राप्त कुकुरहरूको विधिवत् पूजा सम्पन्न गरेको छ।
आज जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगन्जस्थित केनाईन शाखामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले इमानदार र बफादार कुकुरहरूको सम्मानमा विशेष पूजा कार्यक्रम आयोजना गरेका हुन्।
कुकुर तिहारको धार्मिक तथा सांस्कृतिक महत्वलाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रममा प्रहरी अधिकारीहरूले कुकुरहरूलाई टीका र मालाले सुशोभित गर्नुका साथै विशेष खानेकुरा प्रदान गरी उनीहरूको निष्ठा र सेवाभावप्रति कृतज्ञता व्यक्त गरेका थिए।
अपराध अनुसन्धान, लागूऔषध खोज, विस्फोटक पदार्थको पहिचान र विपद् व्यवस्थापनमा अतुलनीय भूमिका खेल्ने यी कुकुरहरूको पूजाले मानव–कुकुर सम्बन्धको गहिराइ र प्रहरी कार्यमा उनीहरूको अपरिहार्यतालाई झल्काएको छ। केनाईन शाखाका सकल दर्जाका प्रहरी कर्मचारीहरूले कुकुरहरूप्रति आफ्नो सम्मान र आत्मीयता प्रकट गर्दै उल्लासमय वातावरणमा पूजा सम्पन्न गरेका हुन्।