जनकपुरधाम । जनकपुरमा अवैध चाँदीको कारोबारमा छापा मार्न गएको प्रहरी टोलीमाथि ‘लुटपाट गर्न आएकोु’ भन्दै लगाइएको आरोपलाई जिल्ला प्रहरी कार्यालय धनुषाले कडा रूपमा खण्डन गरेको छ।
प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै केही पत्रपत्रिका र राजनीतिक दलहरूले तथ्यहीन तथा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
असोज ३१ गते जनकपुरधामको सोनारपट्टी गल्लीमा रहेको सुनचाँदी पसलमा ‘अवैध चाँदीको कारोबार’ भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि मात्रै प्रहरी टोली राजस्व अनुसन्धान कार्यालय र सुनचाँदी व्यवसाय संघका प्रतिनिधिसहित कानुनबमोजिम चेकजाँच तथा खानतलासीका लागि खटिएको प्रहरीको विज्ञप्तीमा जनाइएको छ ।
प्रहरीले कानुनले शङ्कास्पद गतिविधि भएको स्थानमा चेकजाँच र खानतलासी गर्न पाउने पूर्ण अधिकार दिएको स्पष्ट पार्दै, प्रहरी कामकारबाही कानुनको परिधिभित्र रही गरिएको दाबी गरेको छ।
प्रहरीका अनुसार, चेकजाँचकै क्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा १००÷१५० जनाको भिड जम्मा भई प्रहरीलाई घेरा हालेको, होहल्ला गरेको र प्रहरी कर्मचारीहरूमाथि हातपात तथा ढुङ्गामुढा प्रहार गरी काम कारबाहीमा बाधा पुर्याएका थिए।
उक्त झडपमा १० जना प्रहरी कर्मचारी घाइते हुनुका साथै प्रहरीको सञ्चार सेट खोसिएको र गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ। प्रहरीले भिड नियन्त्रणका लागि सामान्य बल प्रयोग मात्रै गरेको स्पष्ट पारेको छ।
झडपपछि प्रहरीले उक्त पसलबाट बिल बिजक नभएको ७.४३६ किलोग्राम चाँदी जस्तो देखिने वस्तु बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइसकेको जानकारी दिएको छ।
प्रहरीले जिम्मेवार राजनीतिक दल तथा सञ्चार माध्यमहरूलाई वास्तविकता बुझेर मात्रै समाचार सम्प्रेषण गरिदिन अनुरोध गरेको छ, साथै घटनामा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।