ट्रेन्डिङ

रिलायन्स सुगर मिलको प्रदूषण रोक्न युवाहरुको माग

वीरगन्ज । बारामा रहेको रिलायन्स सुगर इन्डष्ट्रिज (चिनी मिल)ले बंगरी नदीमा फैलाएको प्रदूषणका कारण स्थानीय युवाहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

आइतबार कलैया, फेटा र प्रसौनी गाउँपालिकाका युवाहरूको संयुक्त समूहले जिल्ला प्रशासन कार्यालय बारा पुगेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेललाई ज्ञापनपत्र बुझाएको छ।

रिलायन्स सुगर मिलले उद्योगबाट निस्कने रसायनयुक्त फोहोर पानी सिधै बंगरी नदीमा मिसाउने कार्य तत्काल रोक्नुपर्ने युवाहरूको माग छ ।

स्थानीय युवाहरूका अनुसार, मिलको कार्यले नदीको पानी अत्यधिक प्रदूषित भएको छ, जसका कारण गाँउहरूमा दुर्गन्ध फैलनुका साथै विभिन्न किसिमका रोगको संक्रमण बढ्दै गएको छ। ब्रह्मपुरी, बेलहिया, गोइठही, मनगढवा, भलुही, अकवनिया, त्रिवेणी लगायत करिब ५० भन्दा बढी गाउँहरू प्रत्यक्ष रूपमा यो प्रदूषणबाट प्रभावित भएका छन्।

यस वर्ष छठ पर्वको समयमा समेत प्रदूषित नदीमै श्रद्धालु भक्तजनहरूले अर्घ दिनुपर्ने गम्भीर बाध्यता देखिएको भन्दै युवाहरूले आक्रोश व्यक्त गरेका छन्। फेटा–१ का मनिष कुशवाहाले यो विषय समुदायको स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासँग जोडिएको गम्भीर सवाल भएकाले सीडीओलाई ध्यानाकर्षण गराएको बताए।

ज्ञापनपत्रमा चेतावनी दिँदै युवाहरूले यदि स्थानीय प्रशासनले आफ्नो मागप्रति बेवास्ता गरेको खण्डमा, शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू घोषणा गरेर सडकमा उत्रिने घोषणा गरेका छन्। उनीहरूले प्रदूषण फैलाउने रिलायन्स सुगर मिललाई प्रचलित कानुन अनुसार कडा कारबाही गर्न पनि माग गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै