लहान। पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारको सबैभन्दा जटिल मानिएको लहान खण्डको ‘ओभरपास’ निर्माण तीन महिनाको अन्तरालपछि बल्ल पुनः सुरु भएको छ।
गत असारको अन्तिम सातादेखि रोकिएको काम असोज २३ गतेदेखि सुरु भए पनि यसले स्थानीयको आक्रोशलाई भने कम गर्न सकेको छैन।
लहानको मुख्य चोकमा निर्माण भइरहेको यो महत्त्वपूर्ण ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसनको काम सकिएको छ। तर, तीन महिनासम्म अन्य संरचनाको काम नहुँदा चोक क्षेत्र पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। स्थानीय व्यवसायी डम्बर घिमिरे भन्छन्, ‘निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ। धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ।’
शहीद स्मारक भत्काएर एकतर्फी सवारीका लागि डाइभर्सन त बनाइएको छ, तर दुर्घटनाको जोखिम, अत्यधिक धुलो र वर्षामा हिलोले लहानवासीको दैनिक जनजीवन कष्टकर बनेको छ। निर्माण ढिलाइको विरोधमा स्थानीयले गत असारमा चक्काजामसमेत गर्नुपरेको थियो।
सडक विस्तारको जिम्मा पाएको चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ। कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले काममा ढिलाइ हुनुका मुख्य कारण स्थानीयको आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताएका छन्।
उनका अनुसार, ‘अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने प्राविधिक बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो।’ त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोलहरू समयमा हटाउन नसक्दा पनि काम प्रभावित भएको थियो।
पाँच सय ५० मिटर लामो निर्माणाधीन ओभरपासको ग्राउन्ड क्लियरेन्स ६ मिटर र उचाइ अन्तरराष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ।
लक्ष्यभन्दा धेरै पछाडि सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न सन् २०२० मा १५ अर्ब ६६ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो। हालसम्म १ सय १२ वटा कल्भर्ट र २५ वटा पुलको ढलान सकिएको छ भने १२ वटा पुल सवारीका लागि खुलिसकेका छन्।
तर, सबैभन्दा ठूलो चिन्ताको विषय के हो भने, निर्माण सम्पन्न गर्ने म्याद सकिन अब दुई महिना मात्र बाँकी छ, तर समग्र प्रगति भने ६७ प्रतिशतमा सीमित रहेको निर्माण कम्पनीले जनाएको छ। निर्धारित समयमा काम सकिनेमा गम्भीर प्रश्नचिह्न खडा भएको छ।