ट्रेन्डिङ

व्यापारीमाथि प्रहरी कुटपिटको घटना छानबिन गर्न मुख्यमन्त्री सोनलको निर्देशन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शुक्रबार राति जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको प्रहरी कुटपिटको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।

आज बिहान अस्पताल पुगेर प्रहरीको कुटाइबाट घाइते भएका अध्यक्ष भण्डारीलाई भेटेपछि मुख्यमन्त्री सोनलले मधेश प्रदेशका प्रहरी प्रमुखलाई सिधै फोन गरेर घटनाको सत्यतथ्य पत्ता लगाई दोषी प्रहरीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

घटना हिजो राति जनकपुरको सोनारपट्टी क्षेत्रमा भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले स्थानीय सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको थियो।

दीपावली जस्तो महत्त्वपूर्ण पर्वको समयमा रातिको समयमा आएर छापा मार्दै व्यापारीहरूलाई दुःख दिएको भन्दै सुनचाँदी व्यवसायीहरूले प्रहरीको प्रतिकार गरेका थिए। यसै क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको थियो। झडपका क्रममा जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते हुन पुगेका थिए।

व्यापारीहरूले शान्तिपूर्ण रूपमा व्यवसाय गर्न पाउने अधिकारको रक्षाका लागि प्रहरीले हस्तक्षेपकारी र त्रासपूर्ण गतिविधि गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै