वीरगन्ज । सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
नयाँ शैक्षिक उत्साहका लागि आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरूलाई पोशाक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताए । यस पहलले विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका छात्राहरूलाई विद्यालय आउन प्रेरित गर्ने र सबै विद्यार्थीमा एकरूपता कायम गर्न सहयोग पुग्ने विश्वास उनको छ ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले गाउँपालिका शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको सुविधाका लागि निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनीहरूले विद्यालय पोशाकले विद्यार्थीमा अनुशासन र अपनत्वको भावना जगाउनुका साथै शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
शुभकामना आदानप्रदानसहित सम्पन्न भएको कार्यक्रममा विद्यालयका कर्मचारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।