फाइल तस्बिर
सप्तरी । कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्तामाथि पत्रकार अनिश शेखमाथि भएको दुर्व्यवहारको घटनालाई लिएर पक्ष–विपक्षमा चर्को ध्रुवीकरण देखिएको छ।
एकातर्फ प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्दै नगरका विद्यालयका प्रधानाध्यापकहरू र पीडित पत्रकारले निष्पक्ष छानबिनको माग गरेका छन् भने अर्कोतर्फ मेयर निकटका कांग्रेस सम्बद्ध मुस्लिम संघका नेताहरू घटनालाई ‘झूटो’ भन्दै ढाकछोप गर्न सक्रिय भएका छन्।
यस घटनाले एकातिर शिक्षक आन्दोलनको रिपोर्टिङ गरिरहेका पत्रकारमाथि भएको प्रहारको विवाद र अर्कोतर्फ आफू निकट नेताहरूको विवादास्पद बचाउ गर्दा मेयर गुप्तालाई दोहोरो दबाबमा पारेको छ ।
पत्रकार अनिश शेखमाथि मेयर गुप्ता र नगर प्रहरीले दुर्व्यवहार गरेको भनिएको घटनालाई नेपाली कांग्रेस सम्बद्ध नेपाल मुस्लिम संघले ‘कपोलकल्पित’ भन्दै खारेज गरेको छ।
मेयर गुप्तासँग निकट सम्बन्ध रहेका नेपाल मुस्लिम संघ सप्तरीका जिल्ला अध्यक्ष मोहम्मद जिब्रिल मियाँ र मधेश प्रदेश कार्य समितिका सहसचिव करिम शेखले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मेयरको पक्षमा उत्रिएका हुन्।
गुप्ताको राजनीतिक संरक्षणमा रहेका यी नेताहरूको विज्ञप्तिले घटनाको निष्पक्ष छानबिनमा बाधा पुर्याउन खोजेको भन्दै आलोचना भइरहेको छ।
मेयर गुप्ताको बचाउको प्रयास भइरहँदा कञ्चनरुप नगर क्षेत्रका २३ वटा विद्यालयका प्रधानाध्यापकहरू भने पत्रकारको पक्षमा उभिएका छन्। उनीहरूले सामूहिक ध्यानाकर्षण पत्र जारी गर्दै घटनालाई ‘अलोकतान्त्रिक र अस्वीकार्य’ ठहर गरेका छन्।
प्रधानाध्यापकहरूको भेलाले पत्रकारमाथि भएको दुर्व्यवहारलाई ‘प्रेस स्वतन्त्रतामाथिको प्रहार’ भन्दै नगरको साखमा नकारात्मक असर परेको जनाएका छन्। उनीहरूले अविलम्ब घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
घटनाको केन्द्रमा रहेका मेयर ललन प्रसाद गुप्ताले भने सार्वजनिक रूपमा फरक–फरक अभिव्यक्ति दिएका छन्। पत्रकार कैलाश माझीसँगको लामो अन्तर्वार्तामा उनले प्रारम्भमा घटनामा शिक्षकहरूको संलग्नता मात्र रहेको बताएका थिए। पछि, सोही प्रश्न तीन पटक सोधिएपछि भने उनले ‘शिक्षकहरूले पत्रकारसँग प्रश्न सोधेर मोबाइलबाट सामग्री डिलिट गर्न लगाएको’ भन्दै शिक्षकमाथि दोष पन्छाउने प्रयास गरेका छन्।
घटना गत असोज २८ गते भएको थियो। सामुदायिक विद्यालयका शिक्षकहरूले चार महिनादेखि पारिश्रमिक नपाएको विरोधमा चलिरहेको आन्दोलनको समाचार संकलन गर्ने क्रममा पत्रकार अनिश शेखमाथि मेयर गुप्ता आफैंले र पछि नगर प्रहरीहरू लगाएर कुटपिट गरेको र मोबाइलको सामग्री मेटाएको आरोप छ। पीडित पत्रकारले भोलिपल्टै इलाका प्रहरी कार्यालयमा मेयर गुप्तासहित आठ जनालाई प्रतिवादी बनाई जाहेरी दर्ता गराएका छन्।
