वीरगन्ज । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् दिपावली (तिहार) आजदेखि विधिवत् आरम्भ भएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले आजैदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउन स्वीकृति दिएको छ। यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी र यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ। यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास गरिन्छ।
समितिका अनुसार तिथिको घटबढका कारण केही पर्वहरूको मिति सरेको छ। काग तिहार र धनवन्तरी जयन्ती आइतबार परेको छ। त्यसैगरी, सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गरिनेछ। रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधिअनुसार यस वर्ष कात्तिक ३ गते लक्ष्मीपूजा परेको हो।
गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ। यसै दिन हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा तथा नेपाल संवत् ११४६ को आरम्भ पनि हुनेछ। अन्त्यमा, भाइटीका कात्तिक ६ गते बिहीबार लगाउनुपर्ने समितिले जनाएको छ। भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे रहेको समितिका सदस्य लक्ष्मण पन्थीले बताए ।
लक्ष्मीपूजाका दिन भैलो र गोवद्र्धन पूजाका दिन देउसी खेल्ने परम्परा छ। तिहारको अवसरमा जुवा खेल्ने चलन रहे पनि नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ।