वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा पार्टी सहभागी नहुने घोषणा गरेपछि केन्द्रीय कमिटी बैठकभित्रै विवाद चर्किएको छ।
बुधबारबाट जारी केन्द्रीय कमिटी बैठकको आज समापनको क्रममा सम्बोधन गर्दै ओलीले निर्वाचन बहिष्कारको अप्रत्याशित घोषणा गरेका हुन् ।
ओलीले आफ्नो समापन मन्तव्यमा निर्वाचनमा सहभागी नहुने अडान लिएलगत्तै पार्टीका दुई वरिष्ठ उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उक्त घोषणाको कडा प्रतिवाद गरेका छन् ।
अध्यक्षको निर्णयविरुद्ध उपाध्यक्षहरूले फरक मत राखेपछि केहीबेर बैठक कक्षभित्र हल्लाखल्ला र तनावको अवस्था सिर्जना भएको थियो।
केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले नेतृत्व हस्तान्तरण, पार्टी रूपान्तरण र विगतका कमजोरीहरूको समीक्षा गर्नुपर्ने माग उठाइरहेका बेला अध्यक्ष ओलीले अचानक निर्वाचन बहिष्कारको घोषणा गरेपछि पार्टीभित्र ठूलो मतभेद देखिएको छ। निर्वाचनमा जाने वा नजाने भन्ने विषयमा एमालेभित्र ठूलो दरार उत्पन्न भएको छ ।
पार्टीभित्रबाट नै निर्वाचनमा जानुपर्ने र संसद विघटनको नीति सच्याउनुपर्ने दबाब आइरहेका बेला ओलीको यो घोषणाले पार्टीको आगामी राजनीतिक दिशालाई लिएर गम्भीर प्रश्नहरू उठेका छन्।