जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशको शान्ति सुरक्षा र जनसेवा प्रवाहमा सुधार ल्याउन सुरक्षा र प्रशासनिक निकायलाई निर्देशन दिएका छन् ।
आज मुख्यमन्त्री सोनलले प्रदेश सुरक्षा निकायका प्रमुखहरू तथा प्रदेश सरकारका प्रमुख सचिव र मन्त्रालयका सचिवहरुसँगको उच्च स्तरीय बैठकमा आम नागरिकले सुधारको अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन् ।
बैठकमा मुख्यमन्त्री सोनलले प्रदेशमा शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउँदै ‘आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी’ कार्य गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरूलाई सहकार्य र समन्वयमा जोड दिन भनिएको छ।
यसैगरी, उनले जनतालाई सेवा प्रदान गर्ने काममा देखिएको ढिलासुस्ती अन्त्य गर्न प्रमुख सचिव तथा मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए । सेवा प्रवाहलाई छिटो–छरितो र पारदर्शी किसिमले सम्पन्न गर्नुपर्ने मुख्यमन्त्री सोनलको जोड थियो।
बैठकमा मन्त्री महेश यादव र मन्त्री कनिश पटेलको समेत उपस्थिति रहेको थियो।