ट्रेन्डिङ

‘सजगता नै सुरक्षा’ : विद्या सदनमा आगो निभाउने र ग्यास चुहावट रोक्ने प्रत्यक्ष अभ्यास

वीरगन्ज । विद्या सदन माध्यमिक विद्यालय, मुर्लीमा नेपाल स्काउट पर्साको सहकार्यमा विपद् तयारी र ग्यास सुरक्षासम्बन्धी महत्त्वपूर्ण तथा व्यवहारिक प्रशिक्षण सम्पन्न भएको छ।

विद्यालयको ‘जीवन कौशल पाठ्यक्रम’ अन्तर्गत आज आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई ग्यास चुहावट नियन्त्रण र फायर एक्स्टिङ्गुशरको सही प्रयोग बारे प्रत्यक्ष प्रदर्शनमार्फत प्रशिक्षित गरिएको थियो।

नेपाल स्काउट पर्साका विज्ञ भूप नारायण पटेल र उमेश कुमार गुप्ताले विद्यार्थीहरूलाई सानो लापरवाहीले निम्त्याउन सक्ने ठूला दुर्घटनाबारे सचेत गराउँदै आकस्मिक अवस्थामा आत्मसंयम र शीघ्र निर्णय क्षमता विकास गर्न जोड दिए ।

प्रशिक्षणका क्रममा विद्यार्थीहरूले फायर एक्स्टिङ्गुशरका साथै बोरा, कम्बल, ओसिलो कपडा जस्ता स्थानीय सामग्रीको प्रयोगबाट आगो नियन्त्रण गर्ने तरिकाको प्रत्यक्ष अवलोकन र अभ्यास गरे। प्रशिक्षकहरूले ‘सजगता नै सुरक्षा होस्, सानो सतर्कताले ठूलो दुर्घटना टार्न सक्छ’ भन्ने सन्देश दिएका थिए।

विद्यालयका प्रधानाध्यापक संचालक लाल बहादुर गुरुङ्गले यस्ता व्यवहारिक प्रशिक्षणले विद्यार्थीहरूमा जिम्मेवारीबोध र जीवन उपयोगी सीपको विकास भएको बताउँदै नेपाल स्काउट पर्साप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै