ट्रेन्डिङ

‘म यो पदमा ‘इन्जोय’ गर्न होइन्, काम गर्न आएको हुँ’ : मुख्यमन्त्री सोनल

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनलले मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्रीको शपथ लिँदै गर्दा सोनलले आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिएर आफ्नो कार्यकालमा सुशासन र सङ्घीयताको संस्थागत विकासमा जोड दिने प्रतिबद्धता जनाएका छन्।

मुख्यमन्त्री सोनलले आफूलाई जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीसहित छ दल को समर्थन रहेको बताए ।

शपथग्रहणपछि मुख्यमन्त्री सोनलले हालै प्रदेशमा ठूलो परिवर्तन ल्याएको ‘जेनजी युवा आन्दोलन’ प्रति उच्च सम्मान व्यक्त गरे। ‘जेन जीको आन्दोलनबाट जुन बदलाव आएको छ, यो अवस्थामा प्रदेशबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई संस्थागत गरेर अगाडि बढ्छौं,’ उनले भने। उनले आन्दोलनमा शहादत प्राप्त गरेकाहरूलाई उच्च सलाम गर्दै उनीहरूको मागलाई संस्थागत गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाए।

मुख्यमन्त्री सोनलले प्रदेशको सुशासनलाई प्राथमिकतामा राख्ने घोषणा गर्दै आफ्नो व्यक्तिगत प्रतिबद्धता व्यक्त गरे। ‘म यो पदमा इन्जोय गर्न आएको होइन, म काम गर्न आएको छु र काम गर्छु,’ उनले दृढताका साथ भने, ‘म मन्त्री हुँदा १८ घण्टासम्म खटेको छु। अधिकारका कुरालाई संस्थागत गर्दै समृद्धिको बाटोमा अगाडि बढ्ने कुरामा म प्रतिबद्ध छु।’ उनले खासगरी प्रदेशको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाएर अगाडि बढाउनेमा जोड दिए।

मुख्यमन्त्री सोनलले गठबन्धनमा रहेका दलहरूको आन्तरिक व्यस्तताका कारण पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार सानो भएको स्पष्ट पारे। ‘अहिले गठबन्धनमा सहभागी दलहरूमध्ये जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा लागेको छ भने माओवादीका साथीहरू छलफलमा जुट्नुभएको छ,’ उनले भने, ‘यो सब सकिएपछि उहाँहरूलाई समेत समेटेर सरकार अगाडि बढ्छ।’ उनले सबै दलहरूलाई सहभागी गराउँदै छिट्टै नै मन्त्रिपरिषद् विस्तार गर्ने योजना रहेको जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै