ट्रेन्डिङ

नयाँ मुख्यमन्त्री सोनललाई विश्वासको मत पाउन कठिन, जसपा र माओवादी ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनल बुधबार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएर बिहीबार पद तथा गोपनीयताको शपथ लिए पनि उनी नेतृत्वको नयाँ सरकार गठनलगत्तै नैतिक सङ्कटमा परेको छ।

सोनलले दाबी पेस गरेको ५६ सांसदको समर्थन संख्या एकाएक घटेर बहुमत ५४ को नजिक पुगेको छ, जसले उनलाई विश्वासको मत पाउन कठिन हुने विश्लेषण गरिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाँच दलको समर्थनमा सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। शपथ लिने क्रममा उनलाई जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ गरी ५६ सांसदको समर्थन रहेको दाबी गरिएको थियो।

शपथग्रहणकै दिनसम्म आइपुग्दा मुख्यमन्त्री सोनललाई समर्थन गर्ने सांसदको संख्या ५३ मा झरेको छ । सोनलले सरकारका लागि दाबी पेस गरेकै दिन जनमत पार्टीका दुई जना सांसद (निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह)ले जनस्वराज पार्टीमा सनाखत गरेका छन्।

निवर्तमान मुख्यमन्त्री सिंहले जनस्वराज पार्टी अहिले तटस्थ रहेको र निर्वाचन कार्यालयबाट वैधता प्राप्त भएपछि प्रदेशसभामा दलको दाबी गर्ने बताएका छन्। यससँगै जनमतका २ सांसदको समर्थन तटस्थ बनेको छ। यता, मुख्यमन्त्री सोनलले शपथ लिइरहेकै बेला जसपा नेपालका सांसद सरोज सिंह कुशवाहा माथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दै पक्राउ गरेको छ। यसले गर्दा जसपाको १ सांसदको समर्थन पनि तत्कालका लागि प्रभावित भएको छ।

यी तीन सांसद घटेपछि सोनलको पक्षमा अब ५३ सांसदको समर्थन मात्र बाँकी रहेको छ। १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार टिकाउन ५४ सांसद आवश्यक पर्छ।

यद्यपि, सोनललाई बहुमतका लागि आवश्यक १ सांसदको लागि नागरिक उन्मुक्ति पार्टीले समर्थन दिने भनिएको छ। नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएमा बल्ल ५४ को बहुमत पुग्नेछ। तर, सूत्रहरूका अनुसार नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्नका लागि मन्त्रालयको माग गरेको छ।

यसै अस्थिर अवस्थालाई मध्यनजर गरेर नै गठबन्धनका मुख्य दल जसपा नेपाल र नेकपा माओवादी केन्द्र पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभई ‘पर्ख र हेर’ को स्थितिमा रहेको विश्लेषण गरिएको छ। थप जनमतका सांसदहरू जनस्वराजको पक्षमा सनाखत गर्न सक्ने र राजनीतिक समीकरण थप जटिल बन्न सक्ने जोखिम पनि विद्यमान छ। यी सबै चुनौतीका माझ मुख्यमन्त्री सोनललाई आगामी दिनमा विश्वासको मत प्राप्त गर्न कठिन हुने देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै