जनकपुरधाम । मधेश प्रदेशको राजनीतिक नेतृत्वमा आएको परिवर्तनपछि निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष कार्यक्रम आयोजना गरी औपचारिक बिदाइ गरेको छ।
कार्यालयको नेतृत्व र कर्मचारीहरूले सिंहको कार्यकालमा पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै सफल भविष्यको लागि शुभकामना दिएका छन्।
बिदाइ कार्यक्रममा प्रमुख सचिव मदन भुजेल, विभिन्न मन्त्रालयका सचिवहरू र मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले निवर्तमान मुख्यमन्त्री सिंहप्रति आदरभाव व्यक्त गर्दै उनको नेतृत्वमा भएको कामको प्रशंसा गरे।
हालै मात्र जितेन्द्र प्रसाद सोनल मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएसँगै सिंहको कार्यकाल समाप्त भएको थियो। बिहीबार सोनलले मुख्यमन्त्री पदको शपथ लिएका छन्। सिंह भने सोनलको शपथग्रहण समारोहमा समेत सहभागी भएका थिए, जसलाई राजनीतिक सहकार्यको दृष्टान्तका रुपमा हेरिएको छ।