जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन्।
तर, गठबन्धनमा रहेका दुई मुख्य दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र) तत्काल सरकारमा सहभागी भएनन्, जसका कारण पहिलो चरणको मन्त्रिपरिषद् विस्तार सानो आकारको बनेको छ।
मुख्यमन्त्री सोनलले शपथ लिएलगत्तै जनमत पार्टीका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेललाई विना विभागीय मन्त्रीको रुपमा शपथ गराएका छन्। यी दुवै मन्त्रीलाई तत्काल कुनै जिम्मेवारी तोकिएको छैन।
सोनल सरकारलाई समर्थन गर्ने निर्णय गरेका जसपा नेपाल र माओवादी केन्द्रले भने आन्तरिक कारणले गर्दा मन्त्रीको नामावली पठाउन सकेनन्। यस विषयमा प्रतिक्रिया दिँदै जसपा नेपालका नेता मनीष सुमनले पार्टीभित्र सरकारमा सहभागी हुने नेता र मन्त्रालयका विषयमा केही छलफल गर्न बाँकी रहेको स्पष्ट पारे। उनले पार्टीभित्रको छलफल टुङ्गिएपछि आफूहरू दोस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा सरकारमा सहभागी हुने बताए। सोनललाई समर्थन गरेको गठबन्धनमा १९ सिटसहित जसपा नेपाल सबैभन्दा ठूलो दल हो।
यसैगरी, माओवादी केन्द्रका नेता भरत साहले पनि मन्त्रालय बाँडफाँटको विषयमा सहमति हुन बाँकी रहेको जानकारी दिए। उनले भने, ‘कुन दलले कतिवटा मन्त्रालय लिने भन्ने विषयमा लगभग सहमति जुटे पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे छलफल चलिरहेको छ। साथै, पार्टीभित्र पनि कसलाई सरकारमा पठाउने भन्ने छलफल बाँकी छ।’ साहले माओवादी केन्द्र पनि दोस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा सरकारमा सहभागी हुने बताए ।
दलहरूबीच मन्त्रालयको टुङ्गो लागेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने र दोस्रो चरणको विस्तार छिट्टै हुने नेताहरूले बताएका छन्।