ट्रेन्डिङ

मुख्यमन्त्री सोनलको शपथग्रहणमा कांग्रेस र एमाले अनुपस्थित, जसपा–माओवादीले पठाएनन् मन्त्री

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनलले आज मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएको यस समारोहमा प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको अनुपस्थिति रहेका थिए ।

शपथग्रहण कार्यक्रममा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल लगायत कांग्रेस र एमालेका शीर्ष नेताहरू उपस्थित भएनन्, जसलाई नयाँ गठबन्धनप्रति विपक्षीहरूको असन्तुष्टि वा ‘बहिष्कार’का रूपमा हेरिएको छ।

मुख्यमन्त्री सोनलले शपथ लिएलगत्तै दुई जना विना विभागीय मन्त्रीहरूलाई पनि शपथ गराइएको छ । जनमत दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् । यी दुवै मन्त्रीलाई तत्काल कुनै जिम्मेवारी तोकिएको छैन।

सोनल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेका जसपा नेपाल र नेकपा माओवादी केन्द्रले भने तत्काल मन्त्रीको नामवली नपठाएका कारण उनीहरूबाट पहिलो चरणको सरकार विस्तारमा सहभागिता हुन पाएन। यसले गर्दा पहिलो चरणको मन्त्रिपरिषद् सानो आकारको बनेको छ।

अहिले दलहरुबीच कुन दल के कति वटा मन्त्रालय लिने भन्ने विषयमा लगभग सहमति जुटेपनि कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागिसकेको छैन् । सोनललाई समर्थन गरेको गठबन्धनमा जसपा नेपाल १९ सिट सहितको ठूलो दल हो ।

प्रमुख विपक्षी दलहरूको बहिष्कार र गठबन्धन दलहरूबाटै तत्काल मन्त्रीहरू सहभागी नहुँदा सोनल सरकारको आगामी यात्रा कस्तो हुनेछ भन्नेमा चासो बढेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै