कलैया । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा रहेको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी बरियारपुरको टोलीले मंगलबार साँझ करिब साढे आठ बजेको समयमा यात्रुवाहक बसबाट उक्त पटाका बरामद गरेको हो।
प्रहरी नायव निरीक्षक सिकिन्द्र साहको कमाण्डमा खटिएको टोलीले बाराको महागढीमाई नगरपालिका वडा नं. १ स्थित प्रहरी कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उक्त पटाका बरामद भएको बारा प्रहरीले जनाएको छ ।
सिम्रौनगढबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३१२९ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्दा बसको डिकीमा रहेको सुटकेसभित्र लुकाएर राखिएको अवस्थामा अवैध पटाका फेला परेको थियो।
बरामद भएको विभिन्न किसिमको प्रतिबन्धित पटाकाको अनुमानित मूल्य पचास हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले १६ बन्डल पटाका नियन्त्रणमा लिएको छ।
प्रहरीले अवैध पटाका नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ। चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रबाट अवैध पटाकाको तस्करी बढ्न सक्ने भन्दै प्रहरीले निगरानी बढाएको छ।