जनकपुरधाम । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकारलाई बधाई दिँदै आफ्नो दल प्रतिपक्षमा रहेर पनि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नयाँ सरकारको गठन, प्रदेशको विकासका एजेन्डा र भौतिक पूर्वाधार मन्त्रालयको भूमिकाबारे टिप्पणी गर्दै सिंहले महत्वपूर्ण धारणाहरू सार्वजनिक गरेका हुन् ।
उनले नयाँ सरकार ‘आन्दोलन, युवाहरूको निराशा (फ्रस्ट्रेसन) र नयाँ जोश तथा जाँगर’को विपरीत परिस्थितिमा गठन भएको औँल्याए । आवश्यक परेका बेला नयाँ सरकारलाई सल्लाह वा सुझाव दिन आफ्नो टोली तयार रहेको पनि उनले बताए ।
पूर्व मुख्यमन्त्री सिंहले आफ्नो सरकारको अधुरा वा पेंडिंग रहेका प्रगतिलाई नयाँ सरकारले प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।
आफ्नो कार्यकाल र आगामी रणनीतिबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा सिंहले आफ्नो पार्टी जन स्वराज पार्टी (जस्वपा) तत्काल तटस्थ रहने र प्रदेश सभामा आधिकारिकता पाएपछि मात्रै नयाँ सरकारलाई समर्थन वा अन्य निर्णय लिने जानकारी पनि दिए ।