ट्रेन्डिङ

मुख्यमन्त्रीमा सोनल नियुक्त भएपछि कांग्रेस र एमालेद्वारा प्रदर्शन र नाराबाजी

जनकपुरधाम । मधेश प्रदेशमा लामो राजनीतिक रस्साकस्सीपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको छ।

सोनललाई नियुक्त गर्नेबित्तिकै नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालयअगाडि विशाल विरोध प्रदर्शन र चर्को नाराबाजी सुरु गरेका छन्।

पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन्। लोसपाका सोनलले जसपा, जनमतको आधिकारिक पक्ष, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ५ दलको समर्थनमा दाबी पेश गरेका थिए।

तर, सोनलको दाबीसँगै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णकुमार यादवले पनि बहुमत सांसदको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । कांग्रेसले मुख्यमन्त्री सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत पार्टी छाडेर ‘जन स्वराज्य पार्टी’को पक्षमा सनाखत गरेकाले जनमतको मत विभाजित भएको भन्दै सोनलको दाबीमाथि प्रश्न उठाएको थियो।

प्रदेश प्रमुखको कार्यालयले सोनलको नेतृत्वमा रहेको ५ दलीय गठबन्धनको दाबीलाई आधिकारिक मान्दै नियुक्ति गरेपछि यसअघि जनमत पार्टीभित्रको असन्तुष्टिलाई साथ लिएर सरकार बनाउने कसरत गरिरहेका कांग्रेस र एमालेका नेताहरू आक्रोशित भएका छन्।

प्रदर्शनकारीहरूले प्रदेश प्रमुखको कार्यालयलाई घेर्दै ‘गैरकानुनी नियुक्ति खारेज गर’, ‘जनमतको दुरुपयोग बन्द गर’ र ‘लोकतन्त्रको हत्या बन्द गर’ जस्ता नारा लगाएका छन्। उनीहरूले मुख्यमन्त्री नियुक्तिको निर्णय राजनीतिक प्रभावमा परेर गरिएको आरोप लगाएका छन्।

तनाव बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश प्रमुखको कार्यालय आसपासको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै