वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालले देशको वर्तमान राजनीतिक अवस्थामा ‘शक्ति–शून्यताको सङ्क्रमणकाल’ रहेको निष्कर्ष निकाल्दै अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बुझ्न नसकेको ठहर गरेको छ।
अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा असोज २४ गतेदेखि २८ गतेसम्म सम्पन्न केन्द्रीय कार्यसमितिको विशेष बैठकले ‘राजनीतिक परिस्थिति एवं प्रस्ताव २०८२’ प्रतिवेदन सार्वजनिक गर्दै यो निष्कर्ष निकालेको हो।
बैठकले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आन्दोलनको माग सुन्नुको सट्टा प्रशासनिक सन्तुलन र नियुक्तिमा व्यस्त रहेको आरोप लगाएको छ। संविधान पुनर्लेखन, सत्य–छानबिन आयोग र भ्रष्टाचार नियन्त्रणका ठोस कदम नचालिएकाले आन्दोलनको उपलब्धि ‘डिरेल’ भइसकेको पार्टीको भनाइ छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले देशमा देखिएको विचार र विश्वासको गम्भीर सङ्कटबाट पार पाउन सरकारलाई निम्न पाँच प्रमुख कार्य गर्न आग्रह गरेको छ ।
सत्य छानविन, न्याय एवं क्षतिपूर्ति आयोग र जनलोकपाल आयोग गठन गर्ने, बहुल–संस्कृति सुनिश्चित गर्न संविधान पुनर्लेखनको सैद्धान्तिक सहमति गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी विशेष ‘अन्तरिम घोषणा’ गरी समयमै निर्वाचनको सुनिश्चितता गर्ने, १० वर्षभित्र नेपालको जीडीपी कम्तीमा ५०० बिलियन डलर पुर्याउने लक्ष्यसहित ‘आर्थिक सुधार सुझाव आयोग’ गठन गर्ने र स्वदेशी ज्ञान र मूल्यमा आधारित राज्य पुनर्निर्माणका लागि ‘स्वदेशीय सभ्यता र सांस्कृतिक पुनरुत्थान सुझाव आयोग’ बनाउने माग राखेको छ ।
यसका साथै, पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा एघार सदस्यीय निर्वाचन तयारी समिति निर्माण गर्ने निर्णय गरेको छ।

