ट्रेन्डिङ

कांग्रेसमा ‘नेतृत्व परिवर्तन’को दबाब : २४ सय बढीको हस्ताक्षरमा विशेष महाधिवेशन माग

वीरगन्ज । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वलाई पार्टीको विषम परिस्थितिमा नयाँ गति दिन भन्दै विशेष महाधिवेशन आह्वान गर्न चौतर्फी दबाब परेको छ।

१४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत अर्थात् २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्।

देशभरबाट संकलित उक्त हस्ताक्षर कांग्रेसका नेता गुरु घिमिरे ले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका हुन् ।

हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्न निवेदन दिइएको बताए । उनका अनुसार, १४औं महाधिवेशनका कुल प्रतिनिधि सङ्ख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेका छन्।
उनले विशेष अवस्थामा विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशेषाधिकार भएको पनि जिकिर गरे ।

हालै सम्पन्न जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा नेतृत्वको आमूल परिवर्तन खोजेको भन्दै कांग्रेस नेताहरूले विशेष महाधिवेशन माग्दै हस्तक्षर अभियान चलाएका थिए।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। महाधिवेशन प्रतिनिधिहरूको ठूलो सङ्ख्याले हस्ताक्षर बुझाएपछि अब कांग्रेस केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनबारे ठोस निर्णय लिन दबाब बढेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै