ट्रेन्डिङ

मधेश प्रदेशमा फुट्यो जनमत पार्टी, मुख्यमन्त्री सिंहले गरे जन स्वराजमा सनाखत

जनकपुरधाम । डा. सिके राउत अध्यक्ष रहेको जनमत पार्टी औपचारिक रुपमा मधेश प्रदेशमा विभाजन भएको छ ।

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर जन स्वराज (जस्वपा) पार्टीमा प्रदेश सभा सदस्यको रुपमा सनाखत गरेका छन् । हिजो मात्र जनमतबाट निस्कासित दीपक कुमार साहको अध्यक्षतामा जनमतबाट विभाजन भएर जनस्वराज पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।

अहिलेसम्म मधेश प्रदेशमा दुई जना प्रदेश सभा सदस्यले जनस्वराज पार्टीमा आफ्नो सनाखत गरेका छन् । सिंहसँगै जनमतका पूर्वमन्त्री त्रिभुवन साह पनि सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । न्युन्तम ५ जना सदस्यले जनस्वराजको पक्षमा सनाखत गरे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृत्वमा सरकार बनाउन बहुमत अपुग हुन्छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले सिंहलाई नै मुख्यमन्त्री बनाउने आश्वास दिएपछि सिंहकै नेतृत्वमा कांग्रेस र एमाले नयाँ सरकार बनाउन प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेका छन् । हिजो मुख्यमन्त्री पदबाट सिंहले राजीनामा दिएपछि आज दिउँसो ४ बजेभित्र नयाँ सरकार बनाउन दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले समय दिएको छ ।

यसैबीच मुख्यमन्त्री सिंह जनमत त्यागी जनस्वराज पार्टीको पक्षमा सनाखत गर्न जाने क्रममा कार्यकर्ताले विरोध गर्दा झडप भएको छ ।
कार्यकर्ताहरूले सिंहलाई निर्वाचन कार्यालयमा प्रवेश गर्न नदिने भन्दै बाटो अवरुद्ध गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै