सिराहा । जिल्ला प्रशासन कार्यालय, सिराहाले आसन्न शुभ दिपावली तथा छठ पर्वलाई व्यवस्थित, मर्यादित र सुरक्षित ढंगले मनाउन सम्पूर्ण जिल्लावासीहरूलाई अनुरोध गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सूचना जारी गर्दै चाडपर्वको अवसरमा पालना गर्नुपर्ने विभिन्न नियम र सावधानीहरू सार्वजनिक गरेका छन् । प्रशासनले विशेषगरी कालोबजारी, अस्वभाविक मूल्यवृद्धि र म्याद नाघेका वस्तुको विक्रीवितरण जस्ता उपभोक्ता हितविपरीतका कार्यहरू नगर्न र नगराउन कडाईका साथ आग्रह गरेको छ।
यसैगरी, चाडपर्वको समयमा दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र तोकिएको भाडादरभन्दा बढी भाडा नलिन यातायात सम्बद्ध सबैलाई सचेत गराइएको छ।
साथै, आतिसबाजी, पटाका, भुँइचम्पा वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, विक्री र प्रयोगमा पूर्ण रूपमा रोक लगाइएको छ। धार्मिक, जातीय वा सामाजिक सञ्जालमा खलल पुग्ने गतिविधि, गैरकानूनी चिठ्ठा, जुवातास र अनलाइन ठगी नगर्न र नगराउन पनि प्रशासनले अनुरोध गरेको छ।