सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता र नगर प्रहरीसहित आठ जनामाथि पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ।
पत्रकार अनिश शेखले मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी पेश गर्दै मेयर गुप्ता लगायतले आफूलाई जातीय आधारमा अपमान गर्दै कुटपिट गरेको दाबी गरेका हुन्।
जाहेरी अनुसार मंगलबार दिउँसो करिब २ बजे, कञ्चनरुप नगरपालिकाको हाताभित्र समाचार संकलन गर्ने क्रममा मेयर गुप्ताले पत्रकारमाथि जातियता दूव्र्यवहार देखाउँदै अपशब्द प्रयोग गरि हातपात गरि बाहिर निकालेको उल्लेख छ ।
शेखका अनुसार उक्त समयमा नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विगत चार महिनादेखि पारिश्रमिक नपाएको विरोधमा शिक्षकहरुले सुरु गरेको आन्दोलनको समाचार संकलन गरिरहेका थिए।
सोही क्रममा मेयर गुप्ताले सुरुमा आफै र पछि नगर प्रहरीहरू सिर्जना भट्टराई, मनिष चौधरी, सुरेश यादव, सरोज सदा, सुदिप चौधरी, अमरेन्द्र साह र नगर शिक्षा समितिका सदस्य प्रमोद कटुवाललाई समेत लगाएर आफूलाई कुटपिट गरेको र मोबाइलमा रहेका सामग्री मेटाएको दाबी जाहेरीमा गरिएको छ।
पत्रकार शेखले जाहेरीमा घटनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत विभिन्न कसुर अपराध भएको उल्लेख गर्दै सोही अनुसार कारबाहीको माग गरेका छन्।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेख बहादुर बिष्टले पत्रकार शेखको जाहेरी बुझ्दै आवश्यक अनुसन्धान गरी प्रक्रिया अघि बढाउने बताएका छन्।