जनकपुरधाम: मधेश प्रदेशको राजनीतिमा अप्रत्याशित मोड आएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्ने सुनिश्चितता नभएपछि मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै प्रदेश प्रमुखको कार्यालयले भोलि बुधबार दिउँसो ४ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि समय दिएको छ।
केही दिनअघिसम्म नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र जनमत पार्टी मिलेर नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि गृहकार्य गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने अवस्थामा पुगेका थिए। तर, अहिले राजनीतिक समीकरण फेरिएको छ। काङ्ग्रेस र एमालेलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने गरी मधेश केन्द्रित दलहरूले नयाँ पहल सुरु गरेका छन्।
जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि लोसपाको नेतृत्वमा नयाँ गठबन्धन बनाउनका लागि कसरतमा जुटेका छन्। यस विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल भइरहेको स्रोतले बताएको छ।
प्रदेश सभामा कुल १०७ सदस्य रहेकोमा बहुमतको सरकार बनाउनका लागि ५४ सदस्य आवश्यक पर्छ। लोसपा (९), जसपा नेपाल (१९), जनमत पार्टी (१३), नेकपा (माओवादी केन्द्र) (९) र नेकपा (एकीकृत समाजवादी) (७) सहितका दलहरू एक भएमा उनीहरूको सिट संख्या ५७ पुग्ने देखिन्छ, जसले स्पष्ट बहुमत पुग्नेछ।
मुख्यमन्त्री सिंहको राजीनामा र प्रदेश प्रमुखको आह्वानपछि अब मधेश प्रदेशको नयाँ सरकार बुधबार नै गठन हुने सम्भावना बढेको छ। राजनीतिक दलहरू अहिले बहुमतको अंकगणित मिलाउन अन्तिम चरणको छलफलमा व्यस्त छन्।