वीरगन्ज । बारा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित पटाका बरामद गरेको छ।
सोमबार दिउँसो करिब ३ः ३० बजे इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले पटाका बरामद गरेको हो।
जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित कार्यालय अगाडिको चेक प्वाइन्टमा वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०८५ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसको डिकीभित्र लुकाइछिपाइ राखेको अवस्थामा पटाका फेला परेको थियो।
प्रहरीले विभिन्न किसिमका प्रतिबन्धित पटाकाहरू नियन्त्रणमा लिएको छ, जसको अनुमानित बजार मूल्य १ लाख २ हजार रुपैयाँ बराबर रहेको छ। बरामद गरिएको पटाका र बसलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय अमलेखगंजले जनाएको छ।