जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
तर, विश्वासको मत लिने समयभन्दा एक घण्टा अगाडि मधेशका तीन प्रमुख दल— नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी निर्णायक छलफलमा जुटेका छन्।
यी तीन दलबीच कांग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई नयाँ मुख्यमन्त्री बनाउने विषयमा सहमति जुटिसकेको छ।
कांग्रेस संसदीय दलका नेता कृष्णा यादवका अनुसार तीन दलको बैठकमा मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने वा नदिने, अबको राजनीतिक कदम कसरी अगाडि बढाउने र मुख्यमन्त्रीले विश्वासको मत नपाएमा नयाँ सरकार गठनको प्रक्रियालाई कसरी मूर्त रूप दिने भन्ने विषयमा छलफल भइरहेको छ।
प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ (४) बमोजिम विश्वासको मत लिने कार्यसूची छ।
मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्यून रहेको बताएका छन्। उनले विश्वासको मत नपाए पनि सदनमा आफ्नो धारणा राख्ने तयारी गरिरहेको बताइएको छ ।
यसअघि नै नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले संयुक्त रूपमा कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री प्रस्ताव गर्दै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरिसकेका छन्। मुख्यमन्त्री सिंहले विश्वासको मत नपाएको खण्डमा नयाँ सरकार गठनको प्रक्रिया तत्काल अगाडि बढ्ने निश्चित प्रायः छ।