राजविराज। जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न स्थानबाट चोरी भएका चार वटा मोटरसाइकलसहित सात जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी भएको हुलिया निवेदन प्राप्त भएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो। प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीको कमाण्डमा खटिएको प्रहरी टोलीले गहन अनुसन्धानपछि चोरीमा संलग्न सात जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं. १५ खाडोपुलका अनिल कुमार यादव, राज नारायण यादव, सचिन यादव र गजेन्द्र कुमार यादव रहेका छन्। यसका साथै राजविराज नगरपालिका वडा नं. ११ बस्ने अजय कुमार यादव, वडा न. १० बस्ने शिवनन्दन यादव र उदयपुर बेलका नगरपालिका वडा नं. ९ बस्ने गणेश बहादुर विश्वकर्मा पनि पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरूलाई चोरी कसुरमा मुद्दा दर्ता गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं सूचना अधिकारी प्रनाउ डम्बर बहादुर पुरीले जानकारी दिए ।